भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बनाउँछौं : प्रधानमन्त्री

इछापा संवाददाता २०८२-०४-१५
भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बनाउँछौं : प्रधानमन्त्री
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बिहीबार घोषणा गरेका छन् ।

खेलकुद पूर्वाधार निर्माणलाई सरकारले तीव्रता दिएको बताउँदै अब रंगशाला र खेल मैदानको कमी हुन नदिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।

‘अब छिट्टै नै हामी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्न लागिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘दशरथ रंगशालाको क्षमता १५ हजार मात्र हो, अब हामी ५० हजार क्षमताको रंगशाला बनाउँदैछौँ ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘तिमीहरू हुर्किँदासम्म, खेलाडी हुँदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भइसकेको हुनेछ ।’

दशरथ रंगशालाको ऐतिहासिक महत्त्वलाई सम्मान गर्दै यसको मर्मत सम्भार गर्ने र यसको दोब्बर क्षमताको नयाँ रंगशाला निर्माण गर्ने योजना रहेको प्रधानमन्त्री ओलीले सुनाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण कार्य लगभग सकिएको र आगामी क्रिकेट सिजनका खेलहरू त्यहीँबाट सञ्चालन हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीका अनुसार पोखरा, सुर्खेत, धनगढी, झापा र दमकमा पनि नयाँ रंगशाला निर्माणको काम अघि बढेको छ। ‘अब रंगशालाहरूको कमी, खेल्नका लागि खेल मैदानहरूको कमी पटक्कै हुने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी नेपाललाई सम्पूर्ण खेलका क्षेत्रहरूमा स्वर्ण पदक विजेता देशको रूपमा चिनाउने उद्देश्यका साथ अगाडि बढेका छौँ ।’

कार्यक्रममा महिला भलिबल टिमका लागि प्रशिक्षण र अभ्यासका साथै अन्य इन्डोर खेलहरूका लागि पनि पूर्वाधार निर्माण गरिने प्रधानमन्त्री ओलीले बताए ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फालाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले भविष्यका खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.